Skip to content
  • नियात्रा
  • गन्तब्य
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा

नियात्रा

Niyatra.com

  • नियात्रा
  • गन्तब्य
    • काेशी प्रदेश
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विमर्श
  • कृति
  • समाचार
  • हाम्राे बारेमा
  • Toggle search form

कोरोनाले ब्युँताइदिएको बाटोमा

Posted on September 19, 2022September 19, 2022 By बसन्त महर्जन No Comments on कोरोनाले ब्युँताइदिएको बाटोमा
बसन्त महर्जन

भोजपुरको हतुवागढीका लागि हिडेका हामी धनकुटाको भेटेटारभन्दा अलिअगाडि एउटा होटेलमा वास बसेका थियौं । विहानै पुनः बाटो लाग्छौं । बाटो लाग्दालाग्दै काठमाडौं बस्ने हिमालधन राईसँग फोनमा सम्पर्क भयो । फोन सम्पर्क गर्नुको खास कारण बाटोबारे सोध्नलाई नै हो । हाम्रो यात्राको पारा सुनेर उत्तिखेरै जंगिनु भयो– ‘‘के खान यत्रो बाटो लाग्नु भएको ? जानुअघि यस्सो सोध्नु पनि त पर्छ नि । जानुस् अब दिनभरको बाटो … । फर्कनुस्, फर्केर धरान जानुस्, र चतरातिर लाग्नुस् । अनि अरुण नदीमा मोटरबोट चढेर जाँदा हतुवागढी पुगिहालिन्छ नि, जम्मा तीन घण्टाको बाटोलाई किन दिनभर लगाउने ?’’

चतरा भएर जाने कुरा हुन्जेल हाम्रो गाडी नमस्ते झरना जाने बाटो पुगिसकेको थियो । ड्राइभरले ‘गाडीलाई फर्काउँ कि सर ?’ भन्नु पनि भयो । असमन्जस्यमा प¥यौं । तर पछि मात्रै बुझ्यौं, चतराबाट हतुवागढी सोझै पुगिन्न । मोटरबोट चढ्नु पर्ने रहेछ । सार्वजनिक यातायातमा यात्रा गरेको भन्ठानेर त्यो बाटो सुझाउनु भएको रहेछ ।

धनकुटा बजार त पहिले पनि पुगिसकेको हो । यहाँबाट उक्लिएर हिले बजार पुग्यौं । त्यहाँ विहानको चियानास्ता गरी पुनः पश्चिम हेर्दै अगाडि बढ्यौं । रामनगरमा खाना खाएर अरुण खोलामाथि बनेको पुल तरेर बल्ल भोजपुर जिल्ला प्रवेश ग¥यौं । जिल्ला प्रवेश गर्दादेखि कहीँकहीँ बाहेक सबै बाटोमा कालोपत्र गरिएको हुँदा सलल बढ्न पायौं । भोजपुर बजारको टक्सार पनि पुग्यौं । टक्सार त धेरै अघिदेखि सुन्दै आएको नाम, मेरो लागि त भोजपुरको पर्याय नै टक्सार भइरहेको थियो । तर गन्तव्य यो होइन । केही हेर्न रोकिनुको अर्थ हो, पुग्नु पर्ने ठाउँमा ढिलो पुग्नु र बन्दोबस्त गर्न कठिनाइ भोग्नु । एकै छिन भएपनि टक्सारमा यस्सो हेर्ने रहर पूरा गर्न सकेनौं र गाडीलाई सिधा दक्षिणको बाटो झ¥यौं । अघिसम्म पीच बाटोमा सलल गुडेको बाटो अब भने कच्चीबाटोको स्वाद मज्जैले चाखियो । नागबेलीे बाटो हुँदै डाँडाको माथि टुप्पोमा पुग्ने अनि त्यसरी नै नागबेली पर्दै झर्ने डाँडा एउटा मात्रै हो र ? कहिलेकाहीँ यस्तो यात्रा रमाइलो पनि हुन्छ । तर हाम्रो लागि यो अत्यास लाग्दो नै भयो । अर्को विकल्प पनि थिएन । रामप्रसाद राई गाउँपालिकाको बाटो भएर पनि गुड्यौं । यही बाटोबाट अलि भित्र रहेछ राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मघर ।

हतुवागढी पुग्नुको हाम्रो एउटै मात्र उद्देश्य हो, गढी नै हेर्ने । गढीकै अध्ययन गर्न पुगेका थियौं । वल्लोकिरात, माँझकिराँत र पल्लोकिराँतको भौगोलिक विभाजन वा पहिचान भलै राजा पृथ्वीनारायण शाहपछि राणाकालको प्रशासनिक इकाई हो । तर हो, प्राचीनकालदेखिको किरात थलो । पर्याप्त अध्ययन नहुनु, प्रमाण पनि नासिनु र आआफ्नै डम्फू बजाएर हिड्दाका कारण गुजुल्टिएको यस क्षेत्रको इतिहास उधिन्ने प्रयास केही समय यता गर्दै आइरहेको मलाई हतुवागढीकै अध्ययनका लागि पुग्नु सो¥हमा सत्र भइहाल्यो । माँझकितात खण्डमा पर्दछ, हतुवागढी ।

कसैकसैको दावी हो, हतुवागढी भनेको किराती राजाको दरवार हो । यही भएर सरकारी लिखतमा नै हतुवागढी दरवारक्षेत्र भनेर उल्लेख पनि पाइन्छ । कुनै बेला किराती राजा थिए होला, बेग्लै कुरा हो तर वि.सं. १८३० मा गोरखाली सेनाले यस क्षेत्रमा आक्रमण गर्दा यो चौदण्डी राज्यको एउटा प्रशासनिक क्षेत्र थियो । त्यति बेला गोरखाली सेनाले किराती राजालाई नभएर सेन राजाको सेवामा रहेका किराती सरदारहरुलाई हराएको थियो । यी सरदारहरु स्थानिय समाजमा ठुलाबडा हुनु स्वाभाविक थियो र राजा भनी मानसम्मान दिने क्रममा पछिल्ला दिनहरुमा साँच्चै गद्दीनसीन राजा नै भनेर बुझेको देखिन्छ । पछिल्ला समय तिनै सरदारहरुलाई राजाका रुपमा बुझी जातीय संघसंस्थाहरुले समेत किराती राजाको रुपमा व्याख्या गर्नपुग्दा इतिहास झनै अस्पष्ट हुनपुग्यो । सेन राज्य टुक्रिने क्रममा विजयपुर राज्य बनेको थियो भने एक जना सेन राजकुमारले कान्तिपुरलगायतका राजाहरुको सहयोगमा विजयपुरलाई पनि टुक्र्याएर बेग्लै स्वतन्त्र चौदण्डी राज्य निर्माण गरिएका थिए । तर यी जम्मै राजा मुकुन्द सेनकै वंशज थिए । चौदण्डी राज्यको उत्तरी भेक हो हतुवा । भौगोलिक रुपमा अप्ठेरो परेको हुँदा सुविधाका लागि हतुवा थुमलाई बेग्लै प्रशासनिक केन्द्रका रुपमा विकास गरेको थियो । गोरखाली सेनाले सुरुमा हतुवागढीमाथि विजय प्राप्त गरेर राजा शुभ सेनको राज्यमाथि धावा बोलेको थियो र त्यसको केही समयपछि चौदण्डीमै धावा बोलेर राजा शुभ सेनलाई आफ्नै राज्यबाट भाग्नुपर्ने अवस्था ल्याइदिएको थियो । तर स्थानियहरु हतुवागढीलाई स्वतन्त्र किराती राज्यका रुपमा लिन्छन् । पृथ्वीनारायण शाहको सेनासँग भिड्ने किराती राजा भनेर अटलसिं राईको नाम लिइन्छ । तत्कालीन समयमा ‘अतल राय’ नामका एक सैन्यअधिकारी भएको लिखत पाइन्छ । त्यसको तीस वर्षपछि भएको ‘वग्याल पर्व’मा फाँसीको सजाँय पाएको भनी ‘अटल राई’ को नाम आउँछ । अटल राय र अतल सिंहलाई एकै व्यक्ति मान्ने हो भने गोरखा सैनिकद्वारा मारिएको भन्ने कुरा असत्य सावित हुन्छ ।

राजा रणबहादुर शाहको शासनकालमा केन्द्रिय शासकविरुद्ध भएको ‘बग्याल काण्ड’मा उनै व्यक्तिको पनि संलग्नता देखियो र यस बेला उनी कारवाहीमा परेर काटिए । अटल सिं राजा नभएको मान्ने एउटा धारले भने यहाँ हाङहरुको राज्य थियो भन्ने मान्यता राख्दछन । तर इतिहासको कुनै सामग्रीले सेनबाहेक अरुको राज्यसत्ता देखाउँदैन । केही कुराको निक्र्यौल गर्नुपर्ने अभिभारासहित हतुवागढी पुगेको मात्रै नभएर यहाँको पर्यटकीय विकासमा पनि ध्यान दिनु पर्ने दायित्व थियो । श्री राइफल गुल्मको इलाकाभित्र रहेको गढीको वास्तुकला हेरेपछि स्पष्ट भयो, यो गढी मात्रै हो । दरवारको संरचना भनेर अनुमान गर्ने ठाउँ छैन । यो गढी वर्गाकारको चारै दिशामा चार वटा चुस्सो निकालिएको जस्तो देखिने बनावट हो । यही बनावट उदयपुरगढीमा पनि देख्न पाइन्छ । घोडा चढेर राजा यहाँ आउँथे र घुमेर फर्कन्थे भन्ने कहावतले प्रशासनको अधिकारीलाई राजा र उनको निवासस्थललाई नै दरवार भनिएको बुझ्न गा¥हो भएन । भौगोलिक बनावटअनुसार उक्त कथित दरवार गढीको दक्षिणी क्षेत्रमा अनुमान गर्न सकिन्छ ।

हतुवागढीकाे मुख्य वस्ती घाेडेटार बजार

दुई टोली एकसाथ गएका थियौं । गढीलाई हेर्नु र गढीको पुरातात्विक महत्वमा आँच नआउने गरी विकास योजना बनाउनु हाम्रो टोलीको दायित्व हो । हाम्रो टोलीमा पनि मेरो प्रमुख दायित्व इतिहास, संस्कृति, पुरातत्व र पर्यटनको दृष्टिले पर्गेल्नु र सोहीअनुसार गुरुयोजना तयार पार्नु हो । गढीको डिटेल नापनक्सा लिनुका साथै त्यहाँ वरिपरि म्युजियमलगायतका के कस्ता निर्माण संरचना कसरी बनाउँदा हुन्छ भनेर दुई इन्जिनियरसँग विचारविमर्श गर्ने र एउटा टुंगोमा पुग्ने हुन्थ्यो । यसका लागि गढीभन्दा मुनि रहेको घोडेटार बजारमा पनि स्थानिय जनजीवनलाई नजिकबाट नियाल्यौं । हाम्रो काम सकिँदा पनि पूरै थुमको सर्भे गरिरहेको टोलीको काम सकिएको थिएन । उक्त टोलीलाई त्यहीँ छाडी हामी मात्रै फर्कने भयौं । भोजपुर (टक्सार) भएरै फर्कने भएपनि त्यहाँ अलमलिने अवस्था थिएन । अनि किन त्यत्ति विधि घुम्नु ?

हतुवागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नक लागि हामी त्यहाँ पुगिरहेका हौं । तर भोजपुर (टक्सार) बाट दक्षिण लाग्ने अत्यासलाग्दो बाटोबाट कति नै पर्यटन आउला र ? हतुवागढीका लागि धरानबाट तीन घण्टामा पुग्ने नै बढी उपयुक्त देखिन्छ । हतुवागढीबाट कोप्चेसम्म मोटरबाटो बनिसकेको मात्रै नभएर दिनमा एउटा बस पनि लाग्दो रहेछ । त्यसपछि मोटरबोट चढेर नदी पार गर्न सकिन्छ । यो बाटोबारे जानकारी लिनु हाम्रो लागि अनिवार्यजस्तै भयो । हामी हिडेरै त्यहाँसम्म पुग्ने निधो ग¥यौं । तर खबर पायौं, मोटरबोट बिग्रिएकोले कोप्चेसम्म आउँदैन । सिम्ले पुग्नु पर्छ । कोप्चे हुँदै सिम्ले पुग्ने निधो भयो । केही परसम्म हामीलाई गाडीले पु¥याइदिने भयो । गाडी त्यस्तै बा¥ह किलोमिटर जति गुडेपछि म्याप हेर्दै गरेको सहयात्रीले भन्यो, गाडीलाई त्यहाँसम्म लैजाउ र फर्काउ, हामीलाई हिड्नु त छँदैछ । अलि फर्केर गयो भने हिड्ने बाटो नै रहेछ, त्यहाँबाट जाँदा सीधै सिम्ले पुगिन्छ । गाडीलाई फर्कायौं । नक्साले देखाएको ठाउँमा पुग्यौं र झर्यौं । त्यहाँबाट अलिकति ओरालो झरेर सोध्दा थाहा भयो, बाटो सही रहेछ । यो ठाउँको नाम कोल्टेटार रहेछ । पुरानो बाटो यही हो । नयाँ मोटरबाटो बनेपछि मान्छेहरु हिड्न छाडेको मात्रै हो ।
कोल्टेटारबाट ओरालो ओरालो झर्न थाल्यौं । ढुंगा विछ्याएर राम्रोसँग बनाइएको बनाइएका खुड्किलाहरु अब उप्किन थालेको छ । वनको स्याउलाले बाटो छोपिन पनि थालेको छ । कतिपय ठाउँमा स्याउला पन्छाउँदै र बाटो पहिल्याउँदै हिड्नुपर्ने अवस्था रहेछ । अलिकति होस् पु¥याउन सकेन भने स्याउलामा चिप्लिने र लड्ने जोखिम तड्कारो छ । एक सहयात्री त लड्न पनि पुगे । हिड्न छाडेको बाटो न प¥यो, करीब दुई घन्टाको बाटोमा जम्मा दुई ठाउँमा गरी तीन जना मान्छे विपरित दिशाबाट उक्लिरहेको भेट्यौं ।

जीर्ण पाटी

ओरालो झरेर फेदीमा पुग्नै लाग्दा एउटा बिसौनीको भग्नावशेष देखियो । काठको मुढाहरु जमीनमा गाडेर छानोका रुपमा माथि जस्ता छाएको हुनुपर्दछ । तर अहिले त्यो बिसौनीको छानो च्याटिएर झुण्डिएको अवस्था छ । मुढाहरु पनि मक्किएर जमिनबाट छुटिएको र झुण्डिएको अवस्थामा छ । केही मुढाको भरथेगले बिसौनीको सम्झना दिलाइरहेको छ । अथवा भनौं, ढल्न नै लागेको अवस्था छ । हेर्दैमा दिक्क लाग्दो त्यो दृष्य विसंगतिको प्रतीक वा अर्थपूर्ण कविता प्रतीत हुन्छ । झट्ट हेर्दा विश्रामस्थल भनेर अडकल गर्न पनि मुस्किल नै हुन्थ्यो । त्यस ठाउँबाट अलि तल झरेपछि दुई चार घर र वारी देख्यौं । त्यहाँ हसनपुर गाउँविकास समिति भनेर टाँगिराखेको एउटा बोर्ड पनि देख्यौं । साविकका छ वटा गाविस रानीवास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी र हसनपुरलाई गाभेर हतुवागढी गाउँपालिका बनाइएको हो ।

सिम्लेसम्म जाने बाटोको केही जानकारी लिएर हामी अगाडि बढ्यौं ।

हसनपुर आएपछि त बाटो समथर नै रहेछ । गाडी पनि ल्याइँदो रहेछ । बाटोको छेउछेउमा राम्रै खेतीकिसानी चल्दो रहेछ । विभिन्न प्रकारका तरकारीहरु लहलहराइरहेको छ । उखुवारी पनि तन्नै रहेछ । गाडीहरु यिनै तरकारी तथा उखु लिनलाई आउने रहेछ । एक ठाउँमा उखु भर्न सकाएर गाडी गुडेको मात्रै थियो र उखु बेचेर आएको पैसाको हँसिलो अनुहारमा गनिरहेको किसान देख्यौं । पैसा गन्दै गरेका श्रीमानलाई मख्ख परेर हेरिरहेकी श्रीमतिको अनुहारमा झल्किन्छ, मेहनतको फल ।

हामी सोध्छौं, ‘‘हामीलाई पनि उखु बेच्नु हुन्छ ?’’ उखुको केही बोट भाँचेर ल्याउँछन र हामीलाई दिन्छन् । उखु किनेबापत दिएको पैसा खल्ती राखेको काइदा हेर्न लायककै थियो । उखु मोटो र रसिलो अनि गुलियो थियो । उखु चपाउँदै बाटो नाप्यौं ।
एउटा ठुलो नदी आयो, त्यसमाथि झोलुङ्े पुल छ । पुलबाट नदी तरेपछि धनकुटा जिल्ला पुगेका रहेछौं । अरुणको किनारै किनार हिडेर दक्षिण झर्दै गर्छौं । हामी तीन जना, कोही अगाडि कोही पछाडि । केही अघिसम्म म अगाडि अगाडि थिएँ भने एक ठाउँमा सुस्ताएपछि म पछि नै प¥यो । पछि पर्नुको खास कारण फोटोग्राफी थियो । एक ठाउँमा पुगेपछि एक जना सहयात्री रुखको छायाँमा सुस्ताइरहेको भेटियो । निकै गा¥हो भएको रहेछ ।

केही अगाडि बढेपछि मोटरबोटको आवाज आउँछ । सिम्ले आइपुगेको हो र ? तर सोध्नलाई त्यहाँ कोही थिएनन् । त्यो आवाज विलायो पनि । एक सहयात्री अगाडि नै छ । त्यहाँ स्कूल र केही घरहरु पनि देखियो । अलमल्याउने फाटेका बाटाहरु थुप्रै छन् । अगाडि हिडेका सहयात्रीले अलि परबाट कराएर बाटोका बारेमा दिएको निर्देशन कानमा ठोकिन आयो । आवाजलाई पछ्याउँदै उनको नजिक पुगियो । मोटरबोट नै रहेछ । तर छु्ट्यो । सिम्ले यही हो ।

बन्द टिकटकाउन्टर

बाटोको छेवैमा रहेको घरको दलानमा मोटरबोटको टिकट पाइने ठाउँ भनेर बोर्ड टाँगिएको छ, । तर बन्द । त्यहाँ होटेल पसलहरु संचालित छन् । एउटा होटेलमा गएर थचक्क बस्यौं । बोट भर्खरै गएको र अर्को टीप गर्न आउने–नआउने ठेगाना नभएको बताए, होटेल साहुजी धिरज राईले । साहुजी ज्यादै भलादमी परेछ, यताउता फोन गरेर आफैले बुझ्नु भयो । त्यही होटेलमा चिया पकाउन लगाएर पियौं पनि । केही बेरपछि एक जना महिला आइपुगिन् र बोलिन् ‘‘मोटरबाटेको टिकट काट्ने भाइ सबै पैसा बोकेर हिडिसक्यो त’’ अर्थात् मोटर बोट भोलि विहान मात्रै आउने हो ।

के गर्ने ? चालीस मिनेट जति अगाडि बढ्ने हो भने एउटा वस्ती आउँछ । त्यहाँ वास वस्न सकिन्छ । त्यहीँबाट भोलि विहान मोटरबोट चढेर जान सकिन्छ । वासै वस्ने हो, उही मोटर बोट चढ्ने हो भने त्यहाँ गइराख्नु प¥यो नै किन ? सिम्लेमै बस्दा पनि त भयो नि भन्ने निधोमा पुग्यौं । अब धिरजकै होटेलमा वास बस्ने पक्का भयो ।

अगाडि अरुण दुई जिल्लाको सीमा भई बगिरहेको छ । नदीमाथि फलामको झुलुङ्गे पुल पनि छ । पुल बन्नुअघि वारिपारि गर्न ट्वीनबाहेक अर्को उपाय थिएन । ट्वीनको अवषेश अझै पनि देख्न पाइन्छ त्यहाँ । पुल तरेर पुनः एक पल्ट भोजपुर टेक्यौं र यसरी नै समय बिताएर बस्यौं ।

खरले छाएका पन्द्रह सो¥ह वटा जति घरहरुको सानो वस्ती हो, सिम्ले बजार । आधा जति त खाने पिउने होटेल नै । आठ वटा मात्रै त्यहीँको रहेछ, अरु जम्मै बाहिरको भन्नुको तात्पर्य बाँकी बाहिरबाट आएर बसेका हुन् । सिम्ले सयौं वर्षअघिदेखिको पुरानै वस्ती रहेछ । हामी बसेको होटेलका मालिक धिरज राईले भनेर थाहा भयो, २०४१ सालमा ठुलो पहिरो आएको थियो र पुरै सिम्लेलाई ध्वष्ट पारेको थियो । त्यसपछि फेरि बस्ती बसाइएको हो ।

सिम्ले बजार पुरानो र चल्तीको बाटो थियो तर नयाँ बाटो खुलेपछि यो बजार सुकेको रे । खोटाङ, भोजपुर र धनकुटाको लागि केन्द्र यही रहेछ । तर कोरोना कोविड–१९ का कारण लकडाउन भएको बेलामा मोटर गुडेन । छोटो र पुरानो यही बाटो हिड्न थाल्यो ।
‘‘उसोभए कोरोना महामारीकै कारण यो बाटो ब्युँटिएको हो त ?’’– म सोध्छु । र, मुस्कुराएर धिरज राई जवाफ दिनुहुन्छ– ‘‘ब्युँटिएकै त भन्नु प¥यो । तर कोरोना सँधै रहिरहोस् भन्न पनि मिलेन । अब यस्तै हो ।’’

सिम्ले बजार

हेर्दा भद्रभलादमी देखिने एक जना पसलमा छिर्नुभयो । स्थानिय नै हुनुहुँदो रहेछ । पछि मात्रै थाहा भयो, गाउँमा रहेको विद्यालयको प्रधानाध्यापक हो । अघि बाटोमा त्यो स्कूल देखेका थियौं । सामान्य कुराकानी हुँदै ग¥यो । धेरै कुराको जानकारी रहेछ । रक्सी थपी थपी खाइरहनु भएको थियो । सुरुमा राम्रैसँग कुरा बढेको थियो, तर जति जति रक्सीको गिलास रिटिँदै गयो, उति उति उहाँको कुरा गराईको पारा पनि फेरिँदै गयो । हरेक कुरामा निहुँ खोज्ने उनको पारा निको लागेन । धेरै हिडेर थाकेको र निद्रा लागेको बहाना गरी कोठामा पसें ।

निदाउने समय त त्यो थिएन, तर पसलमा अरुसँग कराइरहेको आवाज बाटो पारीको मेरो सुत्ने कोठासम्म ठोक्किन आइरहेको थियो । अघि नै पसल बन्द गर्न पाए आनन्दले निदाउन पाउँथें भनिरहेका साहुजी धिरज त्यति बेलासम्म के गरिरहेको थाहा भएन । तर घडीले १० बजाइसकेको थियो । ती प्रधानाध्यापक घरतिर लाग्ने सुरसार कसेको पनि बुझियो । उनी कति लडखडाइसकेको भनेर त देखिँन तर बाटोमा एक पल्ट लडेर ढुँगामा पछारिएको आवाज भने डरलाग्दो गरी आयो । उहाँ प्रधानाध्यापकबाट गाउँमा विद्यार्थीले के कस्ता कुरा सिक्ने हुन् ?

सिम्ले बजार

०००

भोलिपल्ट विहान बाटोमा ग्वारग्वार्ती हिडेका खच्चडहरुको पदचापले मेरो निद्रा खलबलियो । उठ्छु । खच्चडहरु झुलुङ्गे पुलबाट भोजपुरतिर लगिरहेको रहेछ । आफ्नो नित्यकर्म सक्दापनि अर्को कोठामा निदाइरहेका दुई सहयात्री ब्युँझेका थिएनन् । उठाउन ढोकामा धकधक्याएँ । उठेकै होइनन् । तल अरुण नदीमा मोटरबोट आइपुगेको आवाज आयो । ठुलै आवाज दिएर बोलाउँदा भने हत्तरपत्तर उठ्नु भयो । उहाँहरुको नित्यकर्म सकिँदासम्ममा त्यो मोटरबोट फर्कन पनि भ्याइसके । दोस्रो आयो, त्यसमा पनि चढ्न भ्याइएन । तेस्रोको पर्खाइ अरुणको बगरमा नै भयो र बल्लबल्ल चढ्यौं ।

मोटरबोट चढेको यो मेरो पहिलो अनुभव हो । स्पीड देखेर पहिले त अलि डराएको थिएँ । खुवालुङ पनि देख्यौं । नदीको बीच भागमा रहेको खुवालुङ एउटा ठुलो ढुंगा मात्रै नभएर स्थानिय समुदायको इतिहास, संस्कृति र आस्था पनि जोडिएको एउटा स्मारक हो । तर ठुलो मोटरबोट चलाउन बाधा पारेको भनेर यसलाई फुटाल्ने योजना राज्य शक्तिले बनाएपनि समुदायले असन्तुष्टि मात्रै पोखेनन्, ठुलै विरोध पनि सामना गर्नुप¥यो । विरोधको आवाज बुलन्द भइरहेकै बेला हामी त्यहाँ पुगेका थियौं । खुवालुङलाई झलक्क मात्रै देख्न पायौं, तुरुन्तै तल हुट्टियौं ।

एक ठाउँमा हामीलाई झा¥यो र अर्कोमा चढायो । अघिल्लो मोटरबोट सानो र खुल्ला थियो भने यो अलि ठुलो र गाडी चढेजस्तै छानो भएको । हेर्नलाई सानो झ्यालबाट नियाल्नु पर्ने । बराह क्षेत्रमा दर्शनका लागि आएकाहरु यसमा चढे । चतरामा पुगेपछि मोटरबोटको यात्रा सकियो । बगरबाट उक्लेर चतरा बजारमा पुग्यौं । भोजनालयमा पनि अर्डर गरेपछि मात्रै खाना पकाउँदो रहेछ । खाना पकाउन लगाएर खाइसक्दा पनि हाम्रो गाडी आइपुगेन । त्यत्तिन्जेल चतराको पुल तरेर अलि परसम्म पनि हिड्यौं । त्यस्तै आधा घण्टाजति पछि गाडी आइपुग्यो र चतरा छाडेर निजगढतर्फ लाग्यौं । यो दिन हाम्रो वास यहीँ तय भएको थियो ।

Share this…
Share on Facebook
Facebook
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin
Email this to someone
email
नियात्रा

Post navigation

Previous Post: दैलेखका सांस्कृतिक सम्पदाहरू
Next Post: गढीमाइ मेला

Related Posts

छोएर पनि देख्न नपाएको समुद्र नियात्रा
सुन्दरीजलभन्दा माथि माथि नियात्रा
अन्नपूर्ण बेस क्याम्पको यात्रामा प्रकृतिसँग प्रेम नियात्रा
घान्द्रुुक यात्रामा कोरिएका पार्श्र्वचित्रहरू नियात्रा
हिड्दै हिड्दै विष्णुद्वार नियात्रा
सराङकोटमा सूर्योदय नियात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • झाेरकाे झरना र झरी
  • गुफा डाँडामा उक्लिंदा
  • झरी, कविता र धरान-भेडेटार 
  • सुन्दरीजलभन्दा माथि माथि
  • जामाचो मेला, २०७९

(नियात्रा.कममा नियात्रा तथा कुनै ठाउँकाे परिचय वा पर्यटनसम्बन्धी लेखहरू niyatramail@gmail.com मा पठाउन सक्नुहुन्छ ।)

Copyright © 2023 नियात्रा.

Powered by PressBook Grid Blogs theme